“शब्द र अर्थको बिचको भावनै मुक्तक हो”।प्रबन्ध काव्य एक बनस्थली हो भने मुक्तक एक फूल गुच्छा।मुक्तक काव्यको यस्तो बिधान छ जस्मा कुनै कथाको पूर्बापर सम्बन्ध हुँदैन,प्रत्येक बनावट आँफै पूर्णत स्वतन्त्र र सम्पूर्ण अर्थ दिन सक्ने हुन्छ। वास्तविक मुक्तकमा जीवनको कुनै रुप वा प्रकृतिको कुनै पक्ष विशेषको चित्रमात्र उपस्थित हुन्छ।कुनै मार्मिक दृश्य वा अनुभूतिलाई सफलता पूर्वक प्रस्तुत गरिएको रचनालाई मुक्तक भनिन्छ।कौशलता पूर्वक सृजन गरिएको स्वयममा पूर्ण, अपेक्षकृत लघु रचनालाई मुक्तक भनिएको छ।”मुक्तकंश्लोक एबैकश्चमत्कारक्षमःसताम्”(अर्थात चमत्कार पूर्ण क्षमता राख्ने एउटा श्लोकलाई मुक्तक भनिन्छ)
मुक्तकको उत्तमता र अनुत्तमता फेला पार्न बुद्धिको प्रयोजन खासै रहँदैन।एउटा सुन्दर मुक्तक पाठक वा श्रोताको मनोवेग उत्तेजित पार्न प्रयाप्त हुन्छ।यस्ले पाठकको उच्छवासित जीवनमा एउटा नयाँ अंग स्थापित गरिदिन्छ।मानव जीवनलाई उन्नत बनाउँछ,उत्कृष्ट तथा अलौकिक आनन्द सित परिचित गराउँछ।कुनै पनि मुक्तकको शिष्टता,सरलता र मारक क्षमताले पाठकलाई सहज बनाउँछ।एक सानो मुक्तकमा पूर्ण भाव समाहित हुन्छ,गुम्फित हुन्छ,र अभिव्यक्तिको शैली पनि अति प्रभावपूर्ण हुन्छ।यसैले गर्दा कुनै साहित्य संमेलन वा साँस्कृतिक प्रदर्शन हुँदा आरम्भमानै कुनै आकर्शक मुक्तक वाचन गरेर सुरुवात गर्ने प्रचलन रहेको थियो,जस्ले गर्दा आमन्त्रित महानुभावहरुको ध्यान आकर्शित गरोस।
मुक्तक चार पदको रचनाहो,जस्को पहिलो ,दोश्रो र चौथो पद तुकान्त र तेश्रो पद अतुकान्त हुन्छ।मुक्तकको केन्द्रबिन्दु अन्तिम दुई पंक्तिमा रहन्छ।मुक्तक यस्तो रचना हो जस्ले आफ्नो अर्थ आँफै लगाउँछ,अन्य कुनै पनि सहयोगी साधनको भर पर्नु पर्दैन।यो देख्नमा सानो ,मर्मपर्शी र चोटिलो हुन्छ।त्यसैले मुक्तकलाई तीखो र प्रहारिलो भन्ने गरिन्छ।
मुक्तकका चारै पंक्ति पढे पछि यस्को अर्थ लगाइरहनु पर्दैन,आँफै प्रष्ट भैहाल्छ।प्रथम पंक्ति विषय प्रवर्तन(भाव विचारोद्घाटन)द्वितिय पंक्ति प्रवर्तित वा उद्घाटित भाव विचारको सम्बर्धन गर्दछ भने तेश्रो पंक्तिले एउटा सोपान तयार गर्दछ र चौथो पंक्ति पुरा मुक्तकको प्राण बन्दछ।यही चौथो पंक्तिलाई प्राण दिन अरु तीनवटा पंक्तिले तयारी गरेका हुन्छन्।जस्तै-
न रोएर मुक्तक बन्दो रहेछ
न धोएर मुक्तक बन्दो रहेछ
बाँधेर होइन भित्री मनलाई
फोएर मुक्तक बन्दो रहेछ।
कुनै पनि कविको आत्माभिब्यक्ति चाहे त्यो मुक्तक होस वा कविता,सृजन र प्रकृति फरक हुन सक्छ,आकार फरक हुन सक्छ,प्रस्तुति फरक हुन सक्छ,पहुँच र प्रभाव फरक हुन सक्छ तर आफ्नो परिवेशको प्रभाव साहित्यमा परेकै हुन्छ।आफ्नो जीवन संवन्धित भोगाइनै मुक्तक रचनाको सामाग्री हुन सक्छ।आन्तरिक प्रेरणा,स्व विचार,अनुभव,आरोह अबरोह ,दुःख तथा निराशाको झलक मुक्तकमा प्रतिबिम्बित हुन्छनै।हुन त सफल मुक्तककारले साझा मुक्तक सृजना गर्न आँफैलाई पात्रको रुपमा पोख्दछ र समभावको रुपमा समेट्छ।सबै मुक्तक श्रष्टाको जीवनीसंग मात्रै बोलेका हुँदैनन्।सार्वजनिक विषयमा मेल खान सक्ने मुक्तक पस्किन सक्नुनै कुनै पनि श्रष्टाको सफलता मानिन्छ।
मुक्तक पठनीय र श्रवणीय हुनु नित्वान्त जरुरतको कुराहो।पाठक मनोवेगको सुखद सञ्चारनै मुक्तकको आत्मा हो।कुनै पनि मुक्तकको विशेषता भन्नुनै थोरै शब्दहरुमा धेरै गहनता पाइनु हो।यसैले होला हिन्दी साहित्यमा मुक्तकलाई “गागरमे सागर” भन्ने प्रचलन पनि छ।नूतन आनन्द,अद्भूत काव्य स्वाद तथा मानसिक तृप्ति अनुभव गराउन सक्ने मुक्तकनै उत्तम मुक्तक कहलाउन सक्दछ।कल्पना र शब्द संयोजन मिल्यो भने त्यहाँनेर एउटा ज्वति वा रोशनी पैदा हुन्छ,त्यो नै मुक्तकको उज्यालो पन हो।अनुभव ,ज्ञान र अभिव्यक्तिको क्षमताले विचार तत्वलाई भावपरक बनाउँछ।मुक्तक सरल,सहज र बोधगम्य हुनु सर्जकको सफलता हो।
मुक्तक सहित्यमा (नेपाली मुक्तकका प्रवित्तिहरु शीर्षकमा)विद्यावारिधि गर्नु भएका डा मुरारी पराजुलीको विचारमा कविता बिधाको लघुतम प्रकारनै मुक्तक हो भन्ने छ।बन्धित अथवा पुस्तकाकारमा बाँधिएका सबै ग्रन्थित काव्य(प्रबन्ध काव्य) र एक श्लोकको काव्यलाई मुक्तक काव्य भन्छन् डा पराजुली।उनैका भनाई अनुसार ऋग वेदमा रहेका त्रिष्टुप छन्दका हरेक मन्त्र मुक्तक हुन,कालिदासका ऋतु संहार ,शृङ्गार तिलक,पुण्यवाण तिलक र राक्षस काव्य तथा भर्तृहरिका शृङ्गार शतक,नीति शतक र वैराग्य शतक तथा अमरुकको अमरुक शतक सबैलाई मुक्तक समुहमा पर्दछन।डा पराजुलीले मुक्तकका विशेषतालाई छोटकरीमा यसरी प्रस्तुत गरेका छन्ः-क-एक श्लोकी। ख-पूर्वाप्रसङ्ग रहित। ग-आफैँमा पूर्ण। घ-हृदयलाई चमत्कृत गर्ने क्षमता। ङ-अननिर्बद्ध। च-रस-उद्बोधनको क्षमता।
डा पराजुलीको पूर्व प्रकाशित लेखमा समावेश हुन छुटेता पनि मुक्तककार (मुक्तक मणि) तीर्थराज अधिकारी द्वारा लिखित “झटारो” नामक मुक्तक संग्रहको सिध्दार्थ साहित्य परिषदले सिध्दार्थ नगर भैरहवामा मिति २०७०।०३।०१ मा आयोजना गरेको परिचर्चा कार्यक्रममा मुख्य परिचर्चाकारको हैसियतले यी नै विषयमा प्रकाश पार्नु भएको हो।उहाँका अनुसार नेपाली साहित्यकाशमा २०३० साल पछि मुक्तक रचनामा निकैन प्रचुरता आएको देखिन्छ। यस अबधिमा कृष्ण प्रसाद पराजुली,भूपि शेरचन,हरि भक्त कटुवाल,यादव खरेल, ज्ञान उदास,ज्ञानु वकर पौडेल,तीर्थ श्रेष्ठ,सरु भक्त आदि कविहरु सकृय रहे।साँच्चै भन्दा मुक्तकको श्रीबृद्धिमा अग्रिम कलम चलाउने हरुमा लेखनाथ पौडेल,केदार नाथ व्यथित,बालकृष्ण सम,लक्ष्मी प्रसाद देबकोटा,भीम दर्शन रोका, सिद्धि चरण श्रेष्ठ,माधव घिमिरे,रत्न शंशेर थापा,टेक बहादुर नवीन आदि हुन (डा मुरारी)।
संस्कृत काव्यको परंपरामा सर्बप्रथम मुक्तक शब्दको प्रयोग आनन्द बर्धनले गरेका हुन। रसखानले मुक्तकको विषयमा गहन विश्लेषण गरे।उनका अनुसार तारतम्यको बन्धनबाट मुक्त हुनाको कारण मुक्तक बनेको हो। जस्तैः-“मुक्तेन मुक्तकम्” उनले मुक्तकलाई दुई भगमा विभाजन गरे १-सिङ्गार मुक्तक र २- स्वतन्त्र मुक्तक।प्रकारका हिसाबले तीन प्रकारमा विभाजन गरेका छन्।(क)-शृङ्गार (ख०-वीर रसात्मक (ग)-नीति परक।बनावटका हिसाबले मुक्तकका लक्षणहरुमा मार्मिकता,कल्पना प्रवण,व्यङ्ग्य प्रयोग,कोमलता,सरलता नाद सौन्दर्य,आदिको आवश्यकता पर्दछ।मुक्तकलाई दुई रुपबाट पठन पाठन गरिन्छ,पाठ्य मुक्तक र गेय मुक्तक वा प्रगीत।
नेपालको मुक्तक जगत अहिले सुरक्षित हातमा पुगेको छ।गंभीर र संप्रेषण युक्त मुक्तकहरु आउन थलेका छन।पुरानो वर्जना (पाबन्धि) तोडेर नयाँ आयम थपिएका छन्।यो पुस्ताले मुक्तकको सृजनामा बुद्धिको भन्दा हृदयलाई बढी महत्व दिएका छन्। नेपाली मुक्तक संहिताबध्द नहुँदा संम सबै प्रकारका छोटा छोटा कविता पनि मुक्तक भनिए तर हाल नेपाल मुक्तक प्रतिष्ठान स्थपना भएर सबै मुक्तकको बनाबटमा पनि संहितीकरण भैसकेको छ।
मुक्तकका विशिष्ट गुणहरुः- (१)-काव्यको एक लघु परिक्षेत्र। (२)-साहित्यमा काव्यको एक विशिष्ट विधाहो,यस्को विशिष्टता यस्कै पूर्णतामा हुन्छ।(३) “मच धातुमा “कन प्रत्यय लागेर मुक्तक शब्दको ब्युत्पत्ति भएको हो।(४)मुक्तकलाई चोइटा,टुक्रा,झुल्का,उद्वेग,ठून्का,चुड्का,छिर्का,झड्का,केस्रा ,मट्याङ्ग्रा आदि नामले पुकारिन्छ।(५)-जुन वाक्यांश पढ्दा पाठकको अन्तस्करणमा रस-सलिला प्रभाहित हुन्छ त्यही मुक्तक हो।(६)-जव एक पद अर्को पद संग मुक्त रहन्छ अनि मुक्तक हुन्छ।(७)-मुक्तकका दुई भाग पाठ्य र प्रगीत।
मुक्तकको ,परिचय,प्रकार,प्रवृत्ति र प्राप्तिको विषयमा व्यापक जानकारी गराउने माथि उल्लेखित नामहरुको अतिरिक्त मात्सुओ वासोले जापानमा हाइकुको विकास गरे,संस्कृत साहित्यमा भर्तृहरि र अमरुकको(सातौँ ,आठौ शताब्दी) उल्लेख्य नाम आउँछ भने फारसी विद्वान उमर खैयाम ११रौ शताब्दी का हुन्।ब्रिटिश लेखक फिट्जजेराल्डले १८रौ शताब्दीमा उनका रुबाई (मुक्तकहरु)अंग्रेजीमा अनुवाद गरेर विश्व प्रशिध्द बनाए।भरतमा हरिवंश राय वच्चन कृत “खैयामकी मधुशाला” प्रशिद्ध तथा लोकप्रिय भएको छ।मैथिली शरण गुप्ताले पनि खैयामको रुबाईको अनुवाद गरेका छन्।त्यस्तै नेपालमा पनि तीर्थराज अधिकारी द्वारा लिखित “झटारो”नामक मुक्तक संग्रहको विद्वान शिक्षा विद श्री भोजराज नेउपानेज्यूले अ.ग्रेजी भाषामा हनुवाद गर्नु भएर लेखकलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउनु भएको हो।जसको फलस्वरुप मुक्तककार अधिकारीले “मुक्तक मणि” उपाधि प्राप्त गर्नु भयो।
केही तथ्यगत जानकारीः- (क)-पहिलो पुस्तकाकार मुक्तक संग्रह “चोइटा” २०१६ (लेखक टेकबहादुर नवीन)
(ख) -पहिलो अंग्रेजीमा अनुदित मुक्तक संग्रह “झटारो” (लेखक तीर्थराज अधिकारी- अनुवादक भोजराज नेउपाने)
तिर्थराज अधिकारीका तीन मुक्तकः-
(१) -न म कसैको थैलीमा छु न गोजीमा छु
जीवन्त जीवन आफैँ जिउने रोजीमा छु
खान तलासी लिएर कतै नखोज मलाई
म त एउटा मौलिक मनको खोजिमा छु ।
(२)- हरियो साग सब्जीमा कीटनाशीको कहर छ
दुधको भाउमा किनेको पानीमा जहर छ
हरेक वस्तुमा रसद्रव्य पाइन्छ प्रभु!अचेल
निन्द्रामा शुद्ध सपना देख्न समेत रहर छ।
(३)-जो उदात्त छ उ सदैब सुमार्गमा लम्किन्छ
मूर्खलाई खासै निहुँ चाहिन्न त्यसै गम्किन्छ
असली हीरा जाँच्न अँध्यारोमा हेर्नु नी साथी!
प्रकाश परे त फुटेको सीसा पनि चम्किन्छ।
नोट-एउटा सानो आलेखमा विषयको संपूर्णता समेट्न सम्भव हुँदो रहेनछ।यस लेखमा धेरैन महत्वपूर्ण कुराहरु अबश्य छुटेका होलान,पछि कुनै बखत परिस्कृत रुपमा प्रस्तुत हुनेछु।
-तीर्थराज अधिकारी- पोखरा-१०(हाल संयुक्त राज्य अमेरिका)
२०७४।०२।०२