मुक्तकमणि अधिकारी

नेपाली साहित्यिक तथा सामाजिक क्षेत्रमा परिचित नाम हो तीर्थराज अधिकारी।

चन्द्रेश्वर ७, दुराडाँडा लम्जुङ्गमा ७२ वर्ष अघि जन्मेका अधिकारी लामो समय नेपाल सरकारको सेवामा रहेर हाल अवकाशित जीवन व्यतीत गरिरहेका छन्। नेपाली भाषा र साहित्यको क्षेत्रमा यद्यपि सक्रिय रहेका अधिकारी यस वाहेक बिभिन्न संघ संस्थामा समेत रहेर सेवा प्रदान गरिसकेका छन्।

जागिरको सिलसिलामा वीरगञ्जमा रहेका वखत अफिसर क्लवको अध्यक्षको हैसियतमा लाखौँ रुपियाँको भवन निर्माण गर्न वा धादिङ्गमा ‘भानुपार्क वा परासीमा परासी साहित्य समाज, प्रभात काव्य यात्रा वीरगञ्ज रगीताञ्जली साहित्य परिवार पोखराको स्थापना गर्दा नै किन नहोस् उनले अहम् भूमिका निर्वाह गरेका छन्।

मुक्तक, गीत र गजलका पारखी अधिकारीका हालसम्म छ वटा कृति प्रकाशित भइसकेका छन्। उनी चोटिला मुक्तक लेख्न सिद्धहस्त छन्। त्यसैले उनलाई केही समय अघि मुक्तक मणि उपाधि दिइएको थियो।

हाल संयुक्त राज्य अमेरिकाको ओहायो राज्यमा रहेका कर्मनिष्ठ अधिकारीसँग डिसी नेपालका संवाददाताले गरेको कुराकानीको सम्पादित अंश।

साहित्य के हो ?

आन्तरिक अनुभूति र संवेदनाको अभिव्यक्त रुप हो साहित्य। अर्को प्रकारले भन्दा कुनै लेखन वा पंक्तिहरुबाट जिन्दगीको स्पर्श नै साहित्य हो।

प्रवासी साहित्य र अन्तर्राष्ट्रिय साहित्यमा के फरक देख्नु हुन्छ?

प्रवासी साहित्य मूल घर भन्दा अलि टाढा विदेशलाई कर्म घर बनाएर सृजन भएको साहित्य हो। अन्तर्राष्ट्रिय नेपाली साहित्य प्रवासी साहित्यकारहरुले नेपाली अस्मितालाई जिउँदो राख्न भए गरिएको संगठित प्रयास हो।

के अन्तर्राष्ट्रिय नेपाली साहित्यमा संस्कारगत संवेदना पाउन सकिन्छ ?

मानवीय संवेदना वास र प्रवासमा समान हुन्छन्। प्रवासी साहित्य विशेष कुनै दर्शन, चिन्तन वा सिद्दान्तसँग जोडिएको छैन। यसले घर भन्दा पर आफूले भोगेको मानसिक अवस्था र दुःखको चित्रण पनि गर्दछ। यस प्रकारको साहित्यलाई साहित्यिक मापदण्डबाट मात्र हेर्न मिल्दैन, यसमा भावनाको मात्रा पनि प्रचुर हुन्छ र त्यही कुरा अभिव्यक्त हुन्छ।

जीवित साहित्य केलाई भन्ने ?

कुनै साहित्यको गतिशीलता वा प्रगतिलाई जीवित साहित्य भनिन्छ। विश्वमा धेरै साहित्य सृजन भए। धेरै साहित्य हराए पनि। साहित्यमा प्रगति, परिवर्तन र विकास हुनै पर्दछ। जुन कुरा सजीव साहित्यको लक्षण हो। साहित्य निर्माणकोध्येय पनि मानव उपयोग, मानव कल्याण र मनोरञ्जन हो भनिन्छ। मानिसले साहित्यलाई दैनिक रुपमा जिन्दगीसंग मिसायो भने नवीन भन्दा नवीन विचार उत्पन्न हुन्छ र जीवन रसिलो बन्दछ। त्यसैले साहित्य मानव जीवनको अभिन्न अङ्ग हो।

नेपालीमा नै किन लेख्ने प्रवासमा ?

साहित्य त्यही भाषामा लेखिन्छ जुन भाषाको संस्कार मानिसमा वाल्यकालदेखि नै प्राप्त हुन्छ। विदेशी भाषामा गरेको अभिव्यक्ति संवेदनशील हुँदैन। त्यसै भएर नै प्रवासी नेपालीले आफ्नो लेखनको माध्यम नेपाली नै बनाए। प्रवासी नेपाली लेखकले प्रवासको संवेदनशीलतालाई नेपाली संस्कार सितको विषमतालाई केलाएर अक्षरमा उतारेका छन् र त्यही कुरा सबैको संवेदना बन्न पुग्दछ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा यहाँको भूमिका ?

म, निरन्तर लागिरहेको छु। सम्मेलनमा भाग लिइरहेछु। संरक्षक सदस्य हुँ। आवश्यकता अनुसार, सरसल्लाह र सुझाव दिने गर्दछु। मेरो एउटा मुक्तक संग्रह ‘बिरिम फुल’ यही संस्थाले प्रकाशन गरेको छ। म संस्थाप्रति आवद्ध तथा प्रतिवद्ध छु।

मुक्तकको कुरा आयो ।तपाँइलाई ‘मुक्तक मणि’ भन्दछन्, ‘मुक्तकको छोटकरी परिभाषा?

शब्द र अर्थको बीचको भावनै मुक्तक हो। ‘साहित्य एक वनस्थली र मुक्तक फूल गुच्छा’ भनिन्छ।

अलिकति प्रसङ्ग बदलौँ। निकट भविष्यमा नै अनेसासको केन्द्रीय समितिको निर्वाचन हुँदैछ। कुनै पदमा उम्मेदवार बन्ने विचार छ?

केन्द्रीय कार्यसमितिको कुनै पदमा बस्ने मेरो पटक्कै इच्छा छैन । यो त स्थापित तथा नवोदित युवाहरुको क्षेत्र हो। उनीहरुलाई प्रोत्साहन दिनुपर्दछ। सबैको कुरा सुन्ने । अग्रजहरुको मर्यादा राख्ने। निष्पक्ष र अथक कर्मशील उम्मेदवारलाई नेतृत्वको जिम्मेवारी दिनुपर्दछ।

तपाँई जस्तो सकृय र अनुभवी अग्रजलाई संस्थाले निष्कृय रहन देला?

म यससंस्थासंग लामो समयदेखि पूर्व परिचित होइन। आवद्ध भएको ३(४ वर्ष मात्र भयो। भेटघाट, परिचय, विचारको आदान प्रदान भने तीव्र गतिमा भै रहेको छ। अव संरक्षक सदस्य साथीहरुले जिम्मेवारी दिएको खण्डमा संरक्षक मंडलको कार्यसमिति ९द्यइत्० मा रहेर काम गर्न सकिन्छ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले भावी सन्ततिलाई नेपालीपनबाट विचलित हुन नदिन के कस्तो कदम चाल्नुपर्ला जस्तो लाग्छ तपाईलाई ?

यसको फेहरिस्त धेरै लामो हुन सक्छ। अनेसासले यस विषयमा धेरै गृहकार्यको थालनी गरेको सकिन्छ।

(क) बोलचालमा नेपाली रहन सहन ९घर परिवार वा नेपाली भेट हुँदा।

(ख) आपसमा पत्राचार नेपालीमा गर्ने।

(ग) नेपाली भाषा विदेशी शैक्षिक संस्थाको पाठ्यक्रममा समावेश गराउन प्रयास गर्ने।

(घ) ठाउँ ठाउँमा नेपाली पुस्तकालय खोल्ने।

(ङ) द्विभाषी पुस्तक प्रकाशन।

(च) ख्याति प्राप्त नेपाली पुस्तकहरु संकलन तथा उपलब्धता र नेपालीले सञ्चालन गरेको व्यापार तथा व्यवसायको नाम नेपालीमा पनि राख्ने आदि।

अन्तमा, तपाईको नेपालीभाषा र साहित्यको श्रीवृद्धिका लागि प्रवासमा रहेकाहरुले गर्नुपर्ने केही कुराहरु ?

मैले अघि नै भनिसकेँ यस कार्यमा प्रवासमा रहे बसेका आइएनएलएस लगायतका संघ संस्थाहरु नै यसका लागि सक्रिय हुनुपर्छ । यसमा एनआरएनको भूमिका पनि महत्वपूर्ण हुन्छ।