
Teertha Adhikari shared a photo.

http://dcnepal.com/news/bichar.php?nid=4342
तीर्थराज अधिकारीको झटारो मुक्तक-
होमनाथ सुवेदी, वुडब्रिज, भर्जिनिया, ०६–२८–२०१५
तीर्थराज अधिकारीको जन्म ०७–३०–२००३, १९४६ मा चन्देश्वर ७, दुराडाँडा, लमजुङ्मा भएको हो । रुक्मिणी र नारायणदत्त अधिकारीका सुपुत्र तीर्थराजको जन्म स्थान र बंश दुवै दृष्टिले शास्त्रसम्मत काम गर्ने परिवारमा जन्मे, हुर्केको देखिन्छ । राजनीतिशास्त्रमा स्नातकोत्तर गरे पछि उपसचिवसम्मको जागिर खाँदै पोखरा १० मा सरेका थिए । हाल उनी ओहोयोमा बस्छन् ।
उनले पाएका विभूषण र कदरपत्रमा प्रवल गोरखा दक्षिणवाहु र झुल्का पत्रिकाको प्रथम अङ्कको प्रथम सम्पादक भएकोमा कदरपत्र प्रमुख हुन् । उनका प्रकाशित कविता कृति हुन् ः जुनकिरी (२०५३), ऐना (२०५७), तीन सय तेह्र गीत (२०६०) । यो विवेच्य कृति उनको ‘झटारो’ बि.सं. २०७०मा प्रकाशित भएको मुक्तक सङ्ग्रह हो ।
उनी विभिन्न सामाजिक संघ संस्थाको अध्यक्ष हुनुका साथै २०१८ सालमा समसामयिक विद्यार्थीको मुद्दामा ६ महिना जेल पनि बसेका छन् । उनी झुल्का, पातले छानो, पोखरा रिभ्युको सल्लाहकार, पल्हिन नन्दनको सदस्य, अन्य कतिपय संस्थाको संस्थापक सल्लाहकार रहेका छन् । राजनीति शास्त्रको स्नातकोत्तर तहका अध्ययन नेपाल सरकारको सेवाको अनुभव साहित्यका अन्य विधाको लेखन र काव्यकृतिको सिर्जनाको अभ्यासले यो मुक्तक संग्रहको रुप र सार दुवैलाई सिँगारेका छन् ।
मुच धातुबाट ‘क्त’ प्रत्यय लगाएर ‘मुक्त’ शब्द निष्पन्न हुन्छ । यसको अर्थ हो स्वतन्त्र । मुक्त शब्दमा ह्रस्व वा लघु वा सानो अर्थ दिने ‘कन्’ प्रत्यय लगाएर ‘मुक्तक’ शब्द सिद्ध हुन्छ । यसको अर्थ यो स्वतन्त्र पनि छुट्टै अर्कोसित नगाँसिएको वैयक्तिक प्रकारको व्यक्तित्व । कवितामा यौटै कविताले पूर्णता दिने अर्को कविताको आवश्यकता नपर्ने पद्य रचनालाई मुक्तक भन्नुपर्दछ । यसैलाई भनिन्छ “मुच्यते इति मुक्तम् तदेव ह्रश्वं द्रव्य मुक्तकम्” अरुबाट अलग भएको सबभन्दा सानो एकाई । पद्यको सन्दर्भमा यौटा ४ पाउको पद्य मात्र हुन्छ । यो कुरालाई अग्निपुराणको यो भनाइले पनि पुष्टि गर्दछ – ’मुक्तकं श्लोकं एवैकश्चमत्कार क्षमः सताम् ।‘ पुराण भन्दा पनि साहित्यमा प्रमाण अभिनव गुप्तको नै मानिन्छ । उनले पनि लेखेका छन् ः ‘पूर्वावर निरपेक्षापि हि येन रस चर्वणा क्रियते तदेव मुक्तकम्’ अगाडि पछाडिको सहयोगविना विभाव अनुभाव संचारी भाव पद्यमा नै हुने रचना मुक्तक हो । निरपेक्ष रूपमा काव्यात्मक पूर्णानन्द दिने पद्य नै मुक्तक हो ।
मुक्तक जति अक्षरका पनि हुन सक्छन् तर ८ देखि १६ अक्षरका मुक्तक मीठा लाग्छन् । ती मुक्त छन्दमा पनि हुन सक्छन् । मुक्तकमा ४ हरफ हुन्छन् । यी चार मध्ये पहिलोले प्रकृति दिन्छ, दोश्रोले भूमिका दिन्छ र तेश्रोले कहाँ के कुरा भन्नुपर्ने हो तथ्य व्यक्त गर्छ, चौथो हरफले त्यस तथ्यको मूल्याङ्कनको परिणामको घोषणा तीव्र व्यङ्ग्य दिएर गर्दछ । जस्तो कि रुखमा फलहरू सबै एकै साथमा झार्न झटारो हानिएको होस् । यो ४ हरफको पद्यमा अर्थको कुरा हो । मुक्तकको रुपको पदावलीमा पहिलो दोश्रो र चौथो हरफमा अन्त्यानुप्रास मिलाउनुपर्छ तर तेश्रो हरफमा भने अनुप्रास मिलाउनु पर्दैन । यसरी रुप र सार नमिलाएमा मुक्तकको सौन्दर्य रहँदैन । विषयवस्तुको हिसाबले सृष्टि स्थिति र प्रलयसम्म र समसामयिक कथा र व्यथा सूत्रात्मक रूपमा प्रस्तुत गर्न सकिन्छ । मुक्तकले व्यञ्जनावृत्तिमा उच्चता प्राप्त गर्दछ ।
मुत्तककार तीर्थराज अधिकारीको ‘झटारो’मा १६० वटा मुक्तक छन् ।
मुक्तकाकारको आफ्नै जीवनको लक्ष्यको आत्मास्वीकृति यो मुक्तकमा पाइन्छ ः
कहिले राजा रिझाएर पगडी लाइयो,
कहिले यजमानी गरेर खुब खाइयो,
निर्वाचन सिर्वाचनका बखेडा छोडिदेउ अब
भाग्यमा भरमा इतिहासमा नाम यस्सै लेखाइयो ।
– भाग्य
अन्त्यानुप्रास धेरै जसो सबै मुक्तकले अनुशरण गरेका छन् । यी मुक्तक वस्तुनिष्ठ छन् ।
‘बिना प्रयास’ जस्ता मुक्तकका चारै हरफमा बराबर अक्षरको पालन गरिएको छैन । त्यस्तै ‘मन लाग्छ’ मुक्तकमा ४ हरफभन्दा बढी ६ हरफ छन् । यी नियमबाट मुक्त मुक्त लेख्ने पनि गरेको पाइन्छ । यसका रोमान्सेली यौन सम्बन्धी मुक्तक बढी छन् । ‘गरिबी’ जस्ता व्यङ्ग्यपूर्ण मुक्तक पनि छन् । अस्थिर राजनीतिलाई तीब्र व्यङ्ग्य भएका ‘इसारा’ जस्ता मुक्तक छन् । राष्ट्रियताको बखान भएका ‘राष्ट्रियता’ जस्ता मुक्तक छन् । ‘आमा छ’ मुक्तक मातृभूमि–प्रेमको हो तर अर्थमा यो अभिधामा मात्र छ, व्यञ्जनामा तीव्र बन्न सकेन । उपदेशात्मक छन्— सज्जन १ । सत्य अहिंसा र नैतिकताका पाठ दिने मुक्तक छन् । तपस्या यसको उत्तम उदाहरण हो ।
लेख्दै जाँदा अधिकारी जीवनको पल्लो किनारासम्म सोच्न, लेख्न पुग्छन् । त्यहाँ उनी पूरा यथार्थवादी दार्शनिक बन्न पुग्छन् । यो मुक्तक नैतिक शिक्षा मात्र हैन जीवन मुक्तिको दर्शन नै हो ।
समरमा उत्रिन पर्दैन मानिस
अन्तरआत्माबाटै जित्न र हार्न सकिन्छ
आफ्नो आत्मा मात्रै जित्न सकियो भने
सारा जगत्लाई बशमा पार्न सकिन्छ ।
– जीतात्मा
अर्काको दमनभित्र बस्न न पर्नु नै स्वतन्त्रता हो र आत्ममुक्ति पनि हो । जुन मरे पछि थाहा छैन तर सदेह प्राप्त गर्न सकिने वस्तु हो । जीवन–मुक्ति पनि यही हो । त्यस्तै चारधाम जानुपर्दैन, सत्य र दयाको पथमा हिँड्न सके तीर्थ त्यसै हुन्छ । कति राम्रो छ ‘भित्रै छन् देवता १’ मा तीर्थ खोज्नुपर्दैन भावना भित्रै देवता छन् । यसरी एक एक मुक्तकले मानवतावादी स्वर स्वरित गर्छन् । मुक्तककार तीर्थ अधिकारीको आमालाई यो सम्प्रेषणको क्षमताले मुक्ति दिन्छ । उनी अरुलाई दोष लगाउन भन्दा प्रत्येक नागरिकले आफ्नै आत्मा नियन्त्रणमा राख्न सकेका स्वतः समाज स्वस्थ हुने कुराको निचोड दिएका छन् । त्यसैले प्रत्येक नागरिकले जितात्मा बन्ने यत्नमा लाग्नु आजको अव्यवस्था निराकरणको उपाय हो भन्ने तीर्थराज अधिकारीका मुक्तकको मुख्य कथ्य हो । यसलाई पुष्टी गर्ने यस्ता धेरै उद्धरण दिन सकिन्छ । तर यो संक्षिप्त अवलोकनमा त्यो सम्भव छैन ।
समाजलाई अग्रगति दिन वाधक बनेका असामाजिक तत्वको लागि यी मुक्तक रामवाण हुन् । मुक्तक सङ्ग्रहको आरोह र अवरोहमा पीङ खेल्न पाएका तीर्थराज अधिकारीको ‘झटारो’ यो झटारो मात्र हैन भ्रस्टाचारीहरुमाथि बलियो बज्रपात हो ।
०

Leave a comment