मुक्तक मणि तीर्थराज अधिकारीका “जूनका टुक्राहरु”नामक मुक्तक संग्रहमा समावेश भएका र केही फुटकर मुक्तकहरु:-

कतै छलिएर अप्सरानै यो धरतीमा पसेझैँ लाग्छ
पूर्णिमा पछि जूनका टुक्राहरु यतै खसेझैँ लाग्छ
अँधेरी रातमा झिलमिल जुन्किरी चम्केको देख्दा
तिमीनै सुटुक्क मेरो छेउमै आएर बसेझैँ लाग्छ।

X

न पिर फुकाउने  ठाउँ छ

न शिर झुकाउने ठाउँ छ

न यो दिल भित्र तिम्रो….

तस्वीर लुकाउने ठाउँ छ।

X

अब समृद्धिको बीउ लागेको छ

भरभराउँदो जीउ लागेको छ

तिम्रो आफ्नै हत्केलो हेर त साथी,

पाँचै औँलामा घिउ लागेको छ।

 

X

तिम्रा हर रहरमा साझा बनाए हुन्छ

सुमधुर मन भित्रको राजा बनाए हुन्छ

अन्त कतै मिल्दैन भने मलाई प्रिय!

तिमी बस्ने घरको दरबाजा बनाए हुन्छ।

X

धेरैको मुखमा चपाउँदै गरेको पानै देख्छु

राजनैतिक सागरमा मिलन र दोभानै देख्छु

देश डुब्यो डुबाए भनेर जत्ति कराए पनि-

खै म त जस्लाई हेर्‍यो उस्लाई ओभानै देख्छु।

X

हिमाल जस्तो उच्च विशाल वक्ष भयो भने

इमान्दार राष्ट्रवादी पक्ष-विपक्ष भयो भने

विकासमा वास्तुको अडचन नहोला साथी

चट्टान समान मजवूत लक्ष भयो भने।

X

कुबेलाला घण्टी बज्दा पर निन्द्रा जाग्न सक्छ

अर्कोलाई गोली ठोक्दा आफैँलाई लाग्न सक्छ

सोचेर मात्रै कदम अघि बढाउनु है साथी!

बाझलाई तर्साउँदा परेवानै भाग्न सक्छ।

X

सुरक्षाको सवाल आउँदा त्वां शरण हुन्छ भने

औषधिको अभावमा अकाल मरण हुन्छ भने

यस्तोलाई कुन दर्जाको शासन भनौँ साथी?

खुला रुपमै प्रजातन्त्रको चीरहरण हुन्छ भने।

X

कहिले छिन छिन गर्ने चुरी लिएर आउँछ

कहिले तिरिरी बज्ने बाँसुरी लिएर आउँछ

तिमीलाई स्पर्श गर्ने पवनले साथैमा प्रिय,

मनै प्रसन्न पार्ने मिठो माधुरी लिएर आउँछ।

X

पर दवावको प्रमुख पक्ष आपसी छिद्रता रहेछ

अवनतिको मुख्य कारण वैचारिक दरिद्रता रहेछ

वैमनस्यता द्वन्द र अशान्तिको कारक हो भने प्रभु!

शान्ति र सन्तुष्टिको वाहक समादर र मित्रता रहेछ

X

साक्षात ऐश्वर्य गुणकी अवतरित लिला हौ

मेरो कल्पना लोककी अवर्णनीय सुशीला हौ

कस्ले भन्छ तिमीलाई रक्तहीन पत्थर हौ भनेर?

तिमीत मेरो मन भित्र बहने अन्त-सलिला हौ।

X

हुनत दागै नभएको मान्छे कतै भेटिदैन

शरीरमा दाग छ भन्दैमा कोही लखेटिदैन

कपडाको दाग त  धोएर जान सक्छ मित्र

चरित्रको दाग भने जिन्दगी भर मेटिदैन।

X

एउटाले अखवारमा नाना थरी लेखाई दिन्छ

अर्कोले हाट हटियामा लगेर ढाडै सेकाई दिन्छ

मलाई ऐना जस्तै निश्छल दोस्तीको खाँचो छ,हजुर

जसले मेरो अनुहार जस्ताको तस्तै देखाई दिन्छ।

X

एउटाले अखवारमा नाना थरी लेखाई दिन्छ

अर्कोले हाट हटियामा लगेर ढाडै सेकाई दिन्छ

मलाई ऐना जस्तै निश्छल दोस्तीको खाँचो छ,हजुर

जसले मेरो अनुहार जस्ताको तस्तै देखाई द

X

मनमै आनन्द ,मनमै छ चैन

बदल्नु तरीका अभिलाषा हैन

तिमी जे चाहन्छौ त्यहीनै पुर्‍याउन

जिन्दगी पक्कै पनि बाध्य छैन।

X

कागजमा तरबार-(मुक्तक)

आफ्ना अतीतको विजय गाथा पढ्दैछु

छातिमा देश राखेर अगाडि बढ्दैछु

कलमको इमन्दार सिपाही पो  हुँ  म-

कागजमा तरबार बनाएर लड्दैछु।

X

देव स्थलमा पुगे पछि नक्कली जटा पाल्ने

प्रीति भोजमा सामेल हुँदा दाह्रीजुँगा फाल्ने

यो त औसरवादी प्राणीको नियति हो साथी

चिप्लिएर नदीमा खस्यो भने नुहाई हाल्ने।

X

सहिष्णुता-मुक्तक:-

समयनुसार सहज रुपमा वहन सके

सदाकाल आत्मविश्वासका साथ रहन सके

कति सार्थक हुनेथ्यो यो क्षणभङ्गुर जीवन-

कठिन अवस्था पनि हाँसी हाँसी सहन सके।