कुनै लेखन वा पंक्तिहरुबाट जिन्दगीलाई स्पर्स हुनुनै साहित्य हो।साहित्यलाई हामिले पानी जस्तै निर्मल बनाउनु पर्दछ,जस्तो पानी जस्ले पिउँछ उसैको तृष्णा मेटिन्छ ,त्यस्तै साहित्य पनि जस्ले पढ्यो उसैको जीवन बोल्नु पर्दछ।यदी कुनै साहित्यकार आप्नो भाषाको आग्रह गर्दछ भने उ आफ्नो सारा स्मृति तथा संस्कारकोआग्रह गर्दछ,स्वतन्त्र राष्ट्रको आप्नो भाषामा विशुद्ध अस्मिता बाँचेको हुन्छ।
कविको संवेदनशीलता पाठकको संवेदनशीलता भन्दा केही अगाडि हुनु पर्दछ।साहित्य अभिब्यक्त मात्र हुदैन यो संप्रेषित पनि हुन्छ।जहिलेसंम साहित्य पाठक बर्गसंम पुग्दैन तबसंम अधुरो रहन्छ।पाठक बर्गले सहज अनुभूत गर्न सक्ने साहित्यनै खास साहित्य हो।कविले केवल कविताको लागि मात्र लेख्नु हुदैन।कविता समाजको लागि लेखिनु पर्दछ,मानवताको लागि लेखिनु पर्दछ।समाज भित्र प्रिय कविता संकलन गर्नु पर्दैन,आँफै संकलित हुन्छ।कहिले कहीँ आँफैले बनाएको घर बाहिरबाट हेर्न जरुरत पर्दछ,त्यस्तै कहिले कहीँ साहित्यिक जगतलाई गैह्र साहित्यिक आँखाले हेर्न जरुरत हुन्छ।अन्याय,भेदभाव र कुरीतिको विरुध्द लेखिएको साहित्य जनप्रिय हुन्छ।
मानव चेतनाको वाणीनै साहित्य हो,आधुनिकता समय सापेक्ष माग हो।साहित्य विशिष्ट मानसिकताको उपज हो।साहित्यमा नविनता आउन भाषामा विचलन आउँछ।साहित्य मनोरञ्जनको लागि पढिन्छ भने शास्त्र ज्ञानको लागि।साहित्यले हार्दिकता दिन्छ भने शास्त्रले बौधिकता।कवि केवल आफ्नो लडाईँ मात्र लड्दैन,नत आफ्नै मात्र कथा ब्यथाको लेखा जोखा गर्दछ,कवि त बिउँझन्छ,हिँड्छ हर घडी हर पल नगिच वा टाढा हर मौसम,हरेक संबन्धको भाग र गुणाको साथ ,इतिहासको फैसला र फासलाको साथ।साहित्यकार आप्नो भूमिकाबाट कदापी विचलित हुँदैन।
एउटा निष्पक्ष साहित्यकार कसैको सामियाना बन्न हुदैन,कसैको घर विशेषको शोभा मात्र बन्न हुँदैन।आफनो भूमिकामा दृढ र तटस्थ रहनु पर्दछ।कुनै पनि साहित्यकारको तीखो कलम मूल्यको लागि लेख्दछ मूल्यको दावेदारको लागि होइन।जस्तोसुकै असहज परिस्थितिमा पनि साहित्यकारका कलमहरु रोकिएनन् बरु भाँचिए होलान,दुष्टहरुले भाँचे होलान।साहित्यकारले क्रुर जहानिय शासन कालमा पनि लेखे,सामाजिक पीडा होस वा राजनैतिक विडम्वना साहित्यकारका कलमहरु थामिएनन्।साहित्यकार एउटा नवीन बिचारको इतिहास रचना गर्दछ,समाज र राष्ट्रको एउटा दिशा निर्धारण गर्दछ।यसैले जनसाधारणले एउटा साहित्यकारको व्यक्तित्व उस्को रचनामा खोजेको हुन्छ,उ कसरी पोखिएको छ र कसरी समेटिएको छ भनेर।
एउटा साहित्यकार वैचारिक रुपबाट प्रतिवध्द हुनै पर्दछ।वैचारिक प्रतिवध्दताले लेखकीय स्वतन्त्रतामा कुनै आँच आउँदैन।यदी कुनै साहित्यकार आफ्नो भूमिकाको पालना गर्दछ भने उस्को विचार सबै सभ्य समाजको लागि सहज रुपमा ग्राह्य हुन जान्छ,अन्यथा लेखकीय स्वतन्त्रतामा प्रतिघात उत्पन्न हुने सम्भावना बढेर जान सक्दछ।साहित्यकार सामाजिक न्याय,आस्था ,विस्वास एवं दर्शनको हस्तान्तरण गर्दै आएको हुन्छ,कहिल्यै पनि आफ्नो भूमिकावाट चिप्लिएको हुदैन।यस्कै निरन्तरता स्वरुप वर्तमान समयका साहित्यकारहरु समाज र राष्ट्रको सच्चा पहरेदार बनेर सुदृढ समाज निर्माणमा समर्पित हुन सकेका देखिन्छन्।
साहित्यमा पहुँच र प्रभाब दुई कुराको ठूलो महत्व रहेको हुन्छ।सानो संख्यमा रहेका भाग्यमानी साहित्यकारहरुलाई छाडेर अधिकांश साहित्यकारहरुको भावना र विचार पाठक समक्ष पुग्न सकेका हुदैनन्।थोरैले मात्र सरकारी तथा संचार माध्यमको मलजल पाएका हुन्छन्।सबैले समान रुपमा सहुलियत पाउन नसके पनि केवल हौसला मात्र पाए पनि ,रोयल्टी र सरकारी सहायता नभए पनि आप्नो कटिवध्दता हराउने थिएन,बजार खोज्दै हिड्नु पर्ने अबस्था आउने थिएन,आफ्ना सृजना बाकसमा बन्द गरेर राख्न मन लाग्ने थिएन।हाम्रो समाजमा प्रबुध्ध पाठकको एउटा जमात तयार भैरहेको अबस्था छ।शब्दहरु खतराको मापडण्डबाट छुटकारा पाइरहेछन्।यस घडीमा प्रत्येक शब्दबाट स्वर निस्कनु पर्दछ।कविता सत्य र सुन्दरताको बयान हो।
साहित्य आन्तरिक अनुभूति र संवेदनाको अभिव्यक्त रुप हो।मान्छेका आन्तरिक भावहरु समान हुन्छनन्,प्रकट गर्ने,महसुस गर्ने र सोच्ने तरिका फरक भए पनि घृणा,मोह,प्रेम र वात्सल्यता जस्ता भाव मानव जातिमा समान रुपमा पाइन्छ।तसर्थ साहित्यको मूल भाव पनि समान छन्,हाम्रा भावनाहरु समान छन्।
सद्भावपूर्ण एवं सभ्य समाजको लागि कर्तब्यवोध र नैतिक मूल्यको पुनस्थापनाको लागि,अमर शान्ति र सुरक्षित भविष्यको लागि युवा साहित्यकारहरुको सकृयता बढ्नु पर्ने यथार्थ प्रष्ट रुपमा देखा परेको छ।अहिले साहित्यमा नैतिक मूल्य हराउने डर बढ्दै छ,शब्दहरु काँप्न थालेका छन्।ब्यापक भौतिकबाद र पाश्चत्य संस्कृतिको कुप्रभावले आक्रान्त हाम्रो समाजलाई गलत मार्गमा हिड्नबाट रोक्नै पर्ने भएको छ।
हुनत वर्तमान समयमा सामाजिक न्याय तथा आधिकारिकताको क्षेत्रमा सुन्दर साहित्यको सृजना भैरहेको छ।सामाजिक कुरीति,नारी शोषण,जातिय भेदभाव र धार्मिक असहिष्णुताको विषयमा रचित आधुनिक साहित्य आप्नो कर्तब्यबोध प्रति सजग हुनुको साथै समाजलाई एक सूत्रमा बाध्ने कडीको रुपमा प्रयोग हुन खोजेको भान हुन्छ। तथापि बिभिन्न विद्युतिय साधनको प्रभावले गर्दा लेखन साहित्यमा कुठाराघात हुन खोजेको पनि छ।तसर्थ यथार्थको धरातलमा नेपाली अस्मिता जगाई राख्न सुन्दर भन्दा पनि सुन्दर रचना हाम्रा गाउँघर,बजार र विविध क्षेत्रमा उपलब्ध गराउने परिपाटी बस्नु पर्ने हुन्छ।सुलभ रोजगारमुखी शिक्षा,समानता,नेपाली अस्मिता,नैतक शिक्षा,न्याय,गरीवी उन्मुलन,राष्ट्रहित आदी विषयमा मूर्धन्य साहित्यकारहरुको कलम अथक रुपमा चल्नु पर्ने कुरा अति आबश्यक महसुस भैरहेको छ।साहित्यकारको प्रतिवध्दतालाई सरकारी इमान्दारी,संरक्षण र प्रोत्साहन भएमा उनीहरुको सृजन सजिलै पुग्न वा उपलब्ध हुन सक्दछ।
कुनै पनि साहित्यकारको विचार रोकिएको हुँदैन।नदीझैँ प्रवाहित भैरहेको हुन्छ।साहित्यकारको उद्देश्य सामाजिक सद्भाव,विचारको गतिशीलता,वहुजन हिताय सुखाय हुन्छ।सामाजिक स्तरमा हेर्दा साहित्यकार एउटा स्वाभिमानी सजग प्रहरी मानिन्छ।वर्तमान समयमा साहित्यिक जीवन असजिलो मार्गबाट हिँडेको भएता पनि आफ्नो भूमिकामा अटल विश्वासकासाथ अगाडि बढिरहेको छ।अस्तु।